९० सालको भुइँचालोपछि न्यूरोड बनाउँदा मासिएको इन्द्रचोक डबली ब्युँतियो

नब्बे सालको भुइँचालोपछि सहर पुनर्निर्माण क्रममा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले एकछेउ आफ्नो पूर्णकदको प्रतिमा र अर्को छेउ प्रवेशद्वारसहित ‘जुद्ध सडक’ बनाए जसलाई आज हामी न्यूरोड भन्छौं।

त्यही बेला उनले आफ्नो शालिकदेखि इन्द्रचोकसम्मको सडक फराक पारे र सडकका किनारमा व्यावसायिक प्रयोजनका लागि उस्तै खालका घरहरू बनाउन लगाए। ती घरका केही अवशेष आज पनि देखिन्छन्।

नब्बे सालको त्यो पुनर्निर्माणले हामीलाई न्यूरोडको फराकिलो सडक त दियो तर केही महत्वपूर्ण सांस्कृतिक स्थल विनाश गरायो।

त्यसैमध्ये एक हो, इन्द्रचोक अर्थात् वंघ:को डबली।

न्यूरोड बनाउँदा मासिएको वंघ: डबली करिब ९० वर्षपछि फेरि ब्युँतिएको छ। काठमाडौंको सबभन्दा ठूलो सांस्कृतिक उत्सव येँया पुन्हि अर्थात् इन्द्रजात्रा बेला देवी नाच र अन्य सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिने ऐतिहासिक वंघ: डबली बागमती प्रदेश सरकारको सहयोगमा इन्द्रचोक उपभोक्ता समितिले पुनर्निर्माण गरेको हो।

प्रदेश सांसद विराजभक्त श्रेष्ठले इन्द्रचोक जिर्णोद्धार क्रममा यो डबली ब्युँताउन लागेको बताए।

‘हामीले सडक मात्र बनाउन लागेका थियौं तर यहाँ पहिले डबली पनि थियो भन्ने कुरा आएपछि त्यसलाई ब्युँताउन पहल गरेका हौं,’ उनले सेतोपाटीसँग भने।

वर्षैभरि व्यस्त रहने इन्द्रचोकको सडक एकदमै छिटो बिग्रिरहन्छ। यसलाई वर्षको दुईचोटि मात्र जिर्णोद्धार गरिन्छ। एकचोटि इन्द्रजात्रा (येँया पुन्हि) बेला र अर्कोचोटि सेतो मच्छिन्द्रनाथको यात्रा बेला। अरू बेला सडक प्राय: जीर्ण रहन्छ।

यही क्रम बर्सेनि दोहोरिँदै आएपछि २०७६ सालमा इन्द्रचोक पुनर्निर्माण उपभोक्ता समिति गठन भएको थियो। समितिले त्यसै वर्ष सडक निर्माणको पहल गरे पनि कोरोना महामारीका कारण काम रोकियो।

गत चैतमा बजेट पारित भएपछि सडक निर्माण अघि बढेको हो। अहिले पूरा हुने क्रममा छ। यसका लागि बागमती प्रदेश सरकारले ५७ लाख रूपैयाँ दिएको छ। यसको २० प्रतिशत उपभोक्ता समितिले श्रमदान गर्नुपर्ने समितिका अध्यक्ष केयुरमान सिंह बताउँछन्।

‘प्रदेश सरकारबाट आएको बजेटमा उपभोक्ता समितिले मिलेर निर्माण गरिरहेका छौं। अपनत्वको भावना होस् भनेर स्थानीय कामदार खटाएका छौं,’ उनले भने।

जुद्धशमशेरको पालामा मासिएको ऐतिहासिक डबली पुनर्निर्माण गर्न पहिले डबली भएको ठाउँमा ढुंगा बिछ्याइएको छ। कालोपत्रे सडकको बीचमा ढुंगा बिछ्याइएको ठाउँले डबलीको झलक दिन्छ।

डबलीको क्षेत्रफल १८ फिट लामो र २२ फिट चौडा छ। अगाडि मण्डल राखिएको छ जहाँ दी प्याखं (देवी नाच), श्वेतकाली अजिमा लगायत नाच देखाउनुअघि सुकुन्दा बालिन्छ। छेउमा ‘वंघः दबू’ (इन्द्रचोक डबली) लेखेर नेपाल सम्बतमा पुनर्निर्माण मिति जनाउन ने.सं ११४२ राख्ने तयारी भइरहेको छ।

परम्परागत डबली सडकको सतहभन्दा अलि उँचो हुन्थ्यो। यो डबली भने सडककै सतहमा छ। इन्द्रचोक सधैं व्यस्त हुने भएकाले जात्रा बेला नाच देखाउन र अरू बेला सवारी साधन गुड्न सहज होस् भनेर यस्तो गरिएको सिंह बताउँछन्।

‘हामीले यहाँ पहिले डबली थियो भन्ने संकेत मात्र दिन खोजेका हौं। यो पनि ठूलो उपलब्धि हो,’ उनले भने, ‘पहिले सडक बनाउँदा विस्थापित भएको सम्पदालाई अहिले सडक पुनर्निर्माण गर्दा ब्युँताउन पाउनु नै हाम्रो लागि खुसीको कुरा हो।’

समय-समयमा मर्मतसम्भार नगरिनाले इन्द्रचोकको बाटो जीर्ण हुने गरेको उल्लेख गर्दै अध्यक्ष सिंहले भने, ‘अब चाहिँ बिछ्याइएको ढुंगा भत्कियो भने हाम्रो समितिले तुरून्तै मर्मत गर्नेछ।’

यहाँ बाटो बन्न थालेको एक महिना तीन साता भयो। त्यस क्रममा चारपांग्रे सवारी निषेध गरिएको थियो। इन्द्रचोक छवटा सडकसँग जोडिन्छ। डबली भएको सडकबाट सोझै अगाडि बढे न्यूरोड पुगिन्छ। न्यूरोड पुग्ने बाटोलाई दीर्घकालीन रूपमा बन्द गर्न सके निकै राम्रो हुने सिंहको भनाइ छ।

‘हामीले सडक बनाउँदा आवागमन बन्द गरेका थियौं। मान्छेहरूले वैकल्पिक बाटो रोजे। चाह्यो भने यो बाटो सधैंका लागि बन्द गर्न सकिन्छ भन्ने यसले देखाउँछ,’ उनले भने, ‘त्यसो भयो भने हामीले मौलिक स्वरूपमै डबली बनाउन सक्छौं। त्यसबारे पछि छलफल गर्ने सोच छ।’

इन्द्रचोक डबलीको विशेषता के भने यहाँ दी प्याखं (देवी नाच), श्वेतकाली अजिमा, १२ वर्षे नाच लगायत विभिन्न सांस्कृतिक नाच प्रदर्शन गरिन्छ। इन्द्रजात्रा (येँया पुन्हि) बेला प्रदर्शन गरिने देवी नाच डबलीमा देखाउनुपर्ने हो।

देवी नाच प्रदर्शनका लागि काठमाडौंमा सातवटा डबली छन्। कुन दिन कुन डबलीमा नाच देखाउने भनेर निश्चित छ।

किलागलको बिज्यापु डबलीमा चौथीदेखि सप्तमीसम्म नाच चल्छ। काया अष्टमीको दिन देवी नाचलाई सार्वजनिक प्रदर्शनमा लगिन्छ। यो दिन किलागलको मुख्य डबलीमा नाच देखाइन्छ।

इन्द्रजात्रा सुरू भएपछि कागेश्वरी नजिकैको डबलीमा देखाइन्छ। अहिले यो डबली मासिएकाले सडकमै देखाउनुपर्छ।

त्यसपछि कुमारी रथयात्राको पहिलो दिन जैसीदेवल (न्हूघः) डबलीमा नाच देखाइन्छ। दोस्रो दिन बांगेमुढा र इन्द्रचोक डबलीमा देखाइन्छ। इन्द्रचोक डबली मासिएकाले सडकमै नचाइँदै आएको छ।

यी पाँच डबलीका अतिरिक्त बाँकी दुइटामा पनि नाच प्रदर्शन गरिन्छ – वसन्तपुरको महादेव-पार्वती मन्दिर अगाडिको डबली र कालभैरव अगाडिको डबली।

महादेव-पार्वती मन्दिरअगाडिको डबलीमा कुमारी रथ परिक्रमा सकिनुअघि नाचिन्छ भने त्यहाँबाट फर्किंदा कालभैरवमा नाचिन्छ।

देवी नाचमा अंक सातको संयोग हुन्छ। सात देवदेवी, सात डबली, सात नाइके, सात बाजा र सात ताल। नाचको समय पनि सातै हुन्छ। देवदेवी पनि सातै जना हुन्छन् – भैरव, चण्डी, कुमारी, दैत्य, कवं (कंकाल), बेताः (बेताल) र ख्याः (ख्याक)।

देवी नाच खलःसँग आबद्ध बालकृष्ण महर्जनले डबली नहुँदा सडकमै नाच देखाउनुपर्ने बाध्यता रहेको बताए। आफ्नो खल:बाट आयोजना हुने नाचमा उनी र उनका भाइले नाचेका छैनन्। उनका बुबा, ठूलो बुबा, माइला बुबा लगायत देवदेवी भइसकेका छन्।

नब्बे सालअघि भत्काइएको डबलीको स्वरूप कस्तो थियो भनेर देख्न नपाए पनि नयाँ डबली बनेकोमा खुसी साट्दै उनले भने, ‘राणाकालमा मासिएको सम्पदा हाम्रो समयमा पुनर्निर्माण गर्नु भनेको एउटा इतिहास हो। यहाँ डबली थियो भनेर थाहा नहुने नयाँ पुस्ताले पनि अब यसबारे थाहा पाउने भए। यसलाई संरक्षण गर्नु हाम्रो जिम्मेवारी हो।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.