मन्दिरमा भएको हमलाबारे आईएसले भन्यो- ‘मोहम्मदको अपमानको बदला’

काठमाडौँ — धार्मिक सशस्त्र समूह इस्लामिक स्टेटले अफगानिस्तानको राजधानी काबुलस्थित शिख मन्दिरमा शनिबार भएको आक्रमणको जिम्मा लिँदै उक्त आक्रमण इस्लामिक धर्मगुरु पैगम्बर मोहम्मदको अपमानको बदला भएको जनाएको छ ।

शनिबार काबुलस्थित शिख समुदायले पूजा गर्ने मन्दिरमा भएको आक्रमणमा दुई जना मारिएका थिए । साथै सात जना घाइते भएका थिए । उक्त आक्रमणको केही घण्टापछि इस्लामिक स्टेटले भारतमा सत्तारुढ दलका नेताले इस्लामिक धर्मगुरुमाथि अपमान गरेको भन्दै त्यसको बदलास्वरुप हमला गरेको जनाएको छ । यस क्रममा आईएसआईएसले आफ्ना एक कार्यकर्तामार्फत् आत्मघाती हमला गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मन्दिरमा आक्रमणको क्रममा मन्दिरभित्र जम्मा ३० जना थिए । तर आईएसआईएसका हतियारधारी कार्यकर्ताहरूको समूह मन्दिर प्रवेश गर्न खोज्दा सरकारी तालिबान लडाकुसँग भीडन्तसमेत भएको बताइएको छ ।

भारतमा सत्तारुढ दलकी पूर्वप्रवक्ता नूपुर शर्माले केही साताअघि इस्लामिक धर्मगुरुमाथि अपमानजनक अभिव्यक्ति दिएपछि इस्लामिक वाहुल्य देशहरूले विरोध जनाएका थिए । साथै भारतमै पनि व्यापक रुपमा त्यसको विरोध हुँदै आएको छ । यद्यपि भारतीय जनता पार्टीले शर्मासहित अर्का एक नेतालाई पनि निलम्बन गरिसकेको छ ।

शनिबार भने काबुलस्थित शिख मन्दिरमा बम विस्फोट गराइएको थियो । अफगानिस्तानमा अल्पसंख्यक धार्मिक समूहको रुपमा रहेको शिख समुदायका अगुवाहरूले भने उक्त हमलाले आफूहरू आतंकित बनेको बताएका छन् । साथै उनीहरूले सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रहसमेत गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.