हामीले बालेको दियोले परदेशमै ज्यान गुमाएकाको आत्माले शान्ति पायो होला त ?

सिर्जना बस्नेत/रामेछाप ।
‘आत्मसम्मान सहितको आप्रवासन’ भन्ने मुल नाराका साथ यो वर्ष पनि आप्रवासी कामदार दिवस मनाइयो । रोजगारको सिलसिलामा परदेशमा मृत्यु भएका कामदारको सम्झनामा दियो बालेर आत्माले शान्ति पाओस भन्ने कामना गरियो । मृतकको नाममा हामीले गर्न सक्ने आखिर त्यति नै होला ।

जसका निम्ती दियो बालेर कामना गरियो उनीहरुको आत्माले शान्ति पाएको अनुभूति गर्‍यो कि गरेन होला ? भन्ने प्रश्नले मलाई रातभर निदाँउन दिएन । राहदानी बनाउन आउँदा जुन सपना संगालेर आएका हुन्छन् तिनै व्यक्ति परदेशमा पुगेपछि वास्तविकता देखेर आतिन्छन् ।

मैले विगत पाँच वर्षदेखि सपनामा रौसिएका र यथार्थमा पिल्सिएका कामदारहरुसँग भावना साट्ने मौका पाएको छु । वर्षभरी अरबमा पिल्सिएका जिउँदा दाजुभाइको आत्मा कति स्थिर र शान्त छ मलाई थाहा छैन ।

तर हामी परदेशमा सास फेर्न छाडेका आत्माको शान्ति खोजीरहेका छौं । परदेशमा भाग्य फेर्ने मेसिन भइदिएको भए सायद माइली काकीले सधै‌ आफ्नो भाग्यलाई धिक्कार्ने थिइनन् ।

माइली काकीको छोरो कतारमा सात तलाबाट लडेर मृत्यु भएदेखि नै उनले आफ्नै भाग्यको दोषले गर्दा छोरोले संसार छाड्यो भन्ने ठान्छिन् । मलाई बेलुका मृतकको सम्झनामामा दियो बालिरहँदा माइली काकीको मुटु जलिरहेको अनुभूति भयो ।

कुनै पनि आमाले सन्तान गुमाएको खबर सुन्दा कस्तो अनुभूति गर्छिन म शब्दमा व्यक्त गर्न सक्दिन । मलाई शब्दमा उतार्नै समेत मुस्किल पर्छ कि परदेशबाट शव नेपाल ल्याउँदा समेत उत्सव मनाउनु पर्ने स्थिती छ । यसलाई मैले नजिकबाट अनुभूति गरेको छु ।

हिलेदेवीका बमबहादुर तामाङको शव साउदीबाट पाँच वर्षपछि नेपाल ल्याउँदा हामी परिवारले किरिया गर्न पाएकोमा खुशी व्यक्त गरेका थियौं । परदेशमा एक पटक मुत्यु हुनेहरुका आफन्त घरदेशमा शवको पर्खाइमा दिनै मरिरहेको मैले भेटेको छु । अझै कहिले सम्म मृतकको सम्झनामा दियो जलाइ रहने ?

दैनिक मेरा उमेरका युवाहरु अरबमा भाग्य फेर्ने मेसिनको खोजीमा भौतारिँदै गर्दा मैले आफ्नै उमेरका युवाको मृत्युको सम्झनामा दियो बाल्नु पर्दा मुटु गाँठो परेर आउँछ । उनीहरुले जिवित हुँदा त शान्तिको सास फेर्न सकेनन् म कसरी विश्वास गरौँ कि उनीहरुको सास विनाको आत्माले शान्ति पाउला भनेर ।

आखिर कहिलेसम्म मृत्यु शोक मनाइरहने । एक जना साथीले मलाई भन्नु भयो मानिस जन्मिनु र मर्नु कुनै ठुलो कुरा होइन । त्यति मानिस त विदेश नगएका पनि दैनिक मरिरहेका छन नि ? भन्दै चित्त बुझाउन खोजे । मेरो चित्त उनले भनेका कुराले बुझेन ।

जन्म हाम्रो नियन्त्रणमा होला तर मृत्यु हाम्रो नियन्त्रण भन्दा बाहिर छ । प्राकृतिक मृत्यु कुनै ठूलो कुरा होइन । तर परदेशमा त बेलुका ठिकठाकै सुतेको मेरै उमेरको युवा बिहान उठ्न पाउँदैन ।

सेतै फुलेका बा आमाले पच्चीस वर्षको छोरोको लासको पर्खाइमा आँसुले प्यास मेट्न बाध्य छन । अनि म कसरी मानौं मृत्यु कुनै ठूलो कुरा होइन भनेर । तिनै माइली काकीलाई मैले चोकमा छोराको सम्झनामा दियो जलाउन बोलाएको थिएँ तर उहाँ आउनुभएन ।

‘उहाँले तिमीहरु त कहिले मान्छे मर्ला र चोकमा दिवस मनाउँला भनेर बसेका छौ’ भनेर झोक्किनु भयो । उहाँको आक्रोश स्वाभाविक लाग्यो । दैनिक परदेशमा मृत्युवरण गर्ने युवाहरु किन अकालमै मृत्युको सिकार भैरहेका छन ? अव यसको बारेमा बहस र अध्ययन गर्न आवश्यक छ ।

गाउँबाट राहादानी बनाउन आउँदा उमेर बढाएर आउने ती भाइबहिनीहरुले कहिल्यै सोचेका हँुदैनन कि परदेशमा कनै सम्भावित समस्याहरु भाग्नु पर्ला भनेर । विदेशमा लेवरको काममा जानेहरु तुलानात्मक रुपमा बढी जोखिममा रहेका हुन्छन् ।

सरकारले सीपयुक्त कामदारलाई मात्र विदेश पठाउन सके कार्यस्थलमा हुने सम्भावित दुर्घटनाबाट बचाउन सकिएला । गाउँबाट एजेण्डको भर परेर गगन छुने किसिमका भवनमा झुन्डिएर काम गर्नुपर्दा कसरी सुरक्षित हुने भन्ने ज्ञान समेत नभएका कामदार कसरी सुरक्षित हुन सक्छन ? सरकारले सीपयुक्त कामदारलाई मात्र विदेशमा काम गर्न जाने व्यवस्था गर्न सके सम्भावित जोखिमलाई न्यनिकरण गर्न सकिन्छ ।

आवश्यक सीप र परीक्षण गरेर पास भएका युवालाई मात्र परदेशमा पठाउन सके जोखिम न्युनिकरण गर्न सकिएला । होइन भने मेरै उमेरका युवाको मृत्युमा मैले नै दियो बाल्नु पर्दाको अनुभुति फेरी दोहोरिरहन्छ ।

(सिर्जना बस्नेत सुरक्षित आप्रवासन सामी परियोजनाले रामेछापमा सञ्चालन गरेको सूचना केन्द्रकी परामर्शकर्ता हुनुहुन्छ ।)

fromujyaaloonline.com

Related Post