एजेन्सी । अमेरिकामा घरबारविहीनहरुको सङ्ख्या १८ प्रतिशत भन्दा धेरैले बढेको छ । सन् २०२३ को तुलनामा २०२४ मा घरबारविहीनको सङ्ख्या १८ दशमलव एक प्रतिशतले बढेर सात लाख ७१ हजार चार सय ८० जना पुगेको समाचारसंस्था एपीले जनाएको छ ।
अमेरिकी आवास तथा शहरी विभागले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार घरबारविहीनहरु हुनेहरुमध्ये ८० हजार भन्दा धेरै बालबालिका भएका परिवार छन् । अमेरिकाको सङ्घीय सरकारले २० वर्षदेखि घरबारविहीनहरुको तथ्याङ्क राख्न थालेको हो । यस पटक भएको वृद्धी त्यसयताकै उच्च भएको प्रतिवेदनमा उल्लेख छ ।
घरबारविहीनहरुको सङ्ख्या बढ्नुमा आप्रवासीहरूको आगमन मुख्य कारण रहेको छ । सीमामा कमजोर सुरक्षाको कारण आपवासीहरूको प्रवेश बढेको र यसरी आएका आप्रवासी बेरोजगार बन्ने र घरबारविहीन हुने क्रम बढ्ने गरेको छ । यसबाहेक दुर्व्यसनीका कारण पनि अमेरिकीहरूले आफ्नो आश्रयस्थल गुमाउँदा घरबारविहीनहरु बन्ने गरेका प्रतिवेदनमा उल्लेख छ ।