‘आर्थिक वृद्धिदर गत वर्षभन्दा माथि हुन्छ’


January 22, 2022 मा प्रकाशित

काठमाडौं, माघ ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् उत्पादनमा भएको वृद्धि, आर्थिक एवं सामाजिक क्रियाकलापमा भएको सुधार, निर्यातमा भएको बढोत्तरी र उच्च कर्जा प्रवाह तथा आयातमा भएको वृद्धिले आर्थिक वृद्धिदर गत वर्षको भन्दा माथि हुने अनुमान रहेको बताएका छन् ।

उनले यस अवधिमा मुद्रा स्फिति करिब ७.११ प्रतिशतको हाराहारीमा रहेको र करिब ६.८ महिनाको वस्तु तथा सेवाको आयात धान्नका लागि विदेशी मुद्राको सञ्चिति रहेको बताए । प्रधानमन्त्री देउवाले शुक्रबार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै यस अवधिको पछिल्लो तीन महिनामा अर्थतन्त्रका बाह्य क्षेत्रमा केही दबाब पर्न गएता पनि सरकारले लिएका वित्त र मौद्रिक नीतिको कार्यान्वयनबाट सुधार गरिने उल्लेख गरे ।

उनले भने, “बजेट कार्यान्वयनको सन्दर्भमा संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रमको आधारमा बजेटलाई पुनरावलोकन गरी प्रतिस्थापन विनियोजन विधेयक समयमै स्वीकृति गरी कार्यान्वयनमा ल्याइएको छ ।” चालु आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्म पाँच खर्ब ७६ अर्ब २४ करोड राजस्व सङ्कलन भएको छ । सङ्घ सरकारको सार्वजनिक खर्चतर्फ १६ खर्ब ३२ अर्ब ८२ करोड वार्षिक बजेटमध्ये पुस मसान्तसम्म पाँच खर्ब छ अर्ब ७८ करोड खर्च भएको छ ।

तीव्र आर्थिक विस्तारका लागि आवश्यक उच्च लगानी योग्य पूँजीको अभाव हुन दिइएको छैन । उच्च कर्जाको माग र विस्तार हुँदा पनि उपयुक्त उपायको अवलम्बन गरी साधारण ब्याजदरलाई वाञ्छित सीमाभित्र नै राखिएको छ । पुनःकर्जातर्फ एक खर्ब छ अर्ब सात करोड र सहुलियतपूर्ण कर्जामा ५५ अर्ब सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गरिएको छ ।

विपद् प्रभावित सिन्धुपाल्चोक, मनाङलगायत विभिन्न १२ जिल्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी विपद् पछाडिको राहत र पुनःनिर्माणको कामलाई उच्च प्राथमिकता दिइएको प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा जानकारी गराए । कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई राहत स्वरूप प्रतिपरिवार एकपटकका लागि १० हजार नगद अनुदान प्रदान गरिएको छ ।

उनले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित तरिकाले बसोबास गर्दै आएका समुदायको बसोबासको समस्या सधैँका लागि समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन आदेश, स्वीकृत भई पदाधिकारी नियुक्तिसहित उक्त आयोगले आफ्नो कार्य प्रारम्भ गरेको बताउँदै विसं २०१३ देखिको पुनर्वासको दायित्वअन्तर्गत विभिन्न जिल्लाका अव्यवस्थित बसोबासीका लागि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट लालपूर्जा वितरणको कार्य प्रारम्भ भएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here