केन्द्रिय सत्ता स्वार्थको प्रभाव, प्रदेश प्रमुख तीन वर्षमा तीन पटक हेरफेर


May 8, 2021 मा प्रकाशित

गण्डकी प्रदेशमा नेकपा (एमाले) को सत्ता संकट गहिरिरहेको बेला २० वैशाखमा एक्कासी प्रदेश प्रमुख अमिक शेरचन बर्खास्तीमा परे । उनीसँगै सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्तलाईसमेत सरकारले हटायो । नेकपा (माओवादी केन्द्र) को कोटाबाट पदासीन दुवै पदमुक्त भएकै दिन राष्ट्रपतिले नयाँ प्रदेश प्रमुखलाई सपथ खुवाइन्, गण्डकीमा सीताकुमारी पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई ।

सरकार फेरिनासाथै वा सरकारलाई चित्त नबुझेकै भरमा प्रदेश प्रमुख फेरिएको यो नै पहिलो पटक होइन । प्रदेश प्रमुखको अभ्यास सुरु भएको तीन वर्षमै पाँच वर्षे कार्यकाल तोकिएको यो पदमा तीनै पटक फेरबदल भएको छ । २०७२ मा संविधान जारी भएसँगै २०७४ मंसिरमा पहिलो संसदीय चुनावपछि संघीय संरचना अनुरुप प्रदेश प्रमुखको अभ्यास कार्यान्वयनमा आएको थियो ।

तर प्रदेशको संवैधानिक यो पदमा बस्ने व्यक्ति कतिबेला जिम्मेवारीविहीन बन्ने भन्ने निश्चित नहुने परिपाटी बस्न थालेको छ । ३ माघ २०७४ मा पहिलोपटक सरकारले ७ वटै प्रदेशमा प्रमुखहरू नियुक्ति गरेको थियो । त्यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा थिए ।

तर ती प्रदेश प्रमुख वर्षदिन पनि पदमा बस्न पाएनन् । २०७४ कै मंसिरमा भएको चुनावमा दुई तिहाई बहुमत ल्याएपछि फागुनमा तत्कालीन नेकपाका अध्यक्ष केपी ओली देउवाको उत्तराधिकारीका रुपमा प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेको ८ महिनापछि १८ कात्तिक २०७५ मा ओली सरकारले अघिल्लो देउवा सरकारले नियुक्त गरेका सबै प्रदेशप्रमुखलाई बर्खास्त गरिदियो र भोलिपल्टै नयाँ नियुक्ति गर्‍यो ।

ओली सरकारले नियुक्त गरेका तीन जना प्रदेश प्रमुखले कार्यकाल पूरा नहुँदै फेरि दुई वर्षपछि पदबाट बाहिरिनुपर्‍यो । तत्कालीन सत्तासीन दल नेकपाभित्र ओली समूह र प्रचण्ड–माधव नेपाल समूहबीच शक्ति संघर्ष चुलिइरहेका बेला प्रचण्डनिकट मानिएका प्रदेशप्रमुख तिलक परियार २ नम्बर प्रदेशबाट पदच्युत भए । परियारलाई हटाएर सरकारले प्रधानमन्त्रीको ओलीको गुनगान गाउने राजेश झालाई लगेको थियो ।

२३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलाबाट एमाले र माओवादी पूर्ववत हैसियतमा फर्किएपछि माओवादी कोटाबाट नियुक्त भएका बाँकी दुई जनाको पदसमेत गयो, २० वैशाखमा शेरचन र पन्तलाई हटाएसँगै ।

संवैधानिक मर्म प्रतिकूल

तीन वर्षको अवधिमा देखिएको प्रदेश प्रमुखको पदमुक्त र नियुक्तिको यो अभ्यासले गम्भीर संवैधानिक सवाल उब्जाइदिएको छ । संवैधानिक कानुनका जानकार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी नेपालमा प्रदेश प्रमुखको पद भयग्रस्त अवस्थाबाट गुज्रिरहेको ठान्छन् ।

‘संघीय सरकारले कतिबेला पद खोस्देला भन्ने डर छ,’ उनी भन्छन्, ‘यस्तो डर भएपछि प्रदेशमा संघीय सरकारको नेतृत्व गर्ने पार्टीको सरकार छ भने उसलाई फाइदा हुनेगरी काम गर्नुपर्‍यो । उसको इशारामा काम गर्नुपर्‍यो । या त पद माया मारिदिनुपर्‍यो ।’

हुन पनि कुनै प्रदेश प्रमुखहरूलाई जिम्मेवारीबाट हटाउँदा कसैलाई पनि गम्भीर अभियोग लगाइएको छैन । संविधानको धारा  १६३ को उपधारा ३ मा प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुने तोकिएको छ । तर त्यसमा राष्ट्रपतिले त्यसअगावै पदमुक्त गर्न सक्ने अधिकार भने दिइएको छ । यही आधारमा सरकारले प्रदेश प्रमुखलाई हटाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्छ ।

तर कस्तो विकृति भित्रिएको छ भने संवैधानिक पदमा आसीन व्यक्तिलाई सामान्य कटेसीस्वरुप समेत जानकारी नै नदिई हटाउनु सामान्य बन्न थालेको छ । भर्खरै गण्डकी प्रदेश प्रमुखबाट हटाइएका अमिक शेरचन  सरकारले आफूलाई पदमुक्त गुर्नअघि एक शब्द समेत नसोधेकोमा चित्त दुखाउँछन् । ‘अर्को व्यक्तिको खाँचो पर्‍यो । तपाइँले बाटो खुला गरिदिनुपर्‍यो नि भनिएन,’ उनले भने, ‘यति गर्दा मानेन भने पो अधिकार प्रयोग गर्ने हो । यति सामान्य प्रचलन पनि रहेनछ ।’

केपी ओली सरकारद्वारा नियुक्त प्रदेश प्रमुखहरू 

तर शेरचन स्वयंसमेत आफ्ना पूर्ववर्तिलाई यही शैलीमा विस्थापन गरेर उक्त पदमा उक्लिएका हुन् । देउवा सरकारका पालामा नियुक्त बाबुराम कुँवरलाई प्रतिस्थापन गर्दा यही शैली अपनाइएको थियो । ‘कुँवरजीले त मैले जति पनि विदाई हुने समय पाउनुभएन रे,’ शेरचन भन्छन्, ‘त्यसरी जानकारी नदिई उनलाई हटाएको मलाई थाहा थिएन । मलाई अचानक हटाएपछि मेरा चालकले भनेर थाहा पाएको हुँ । संवैधानिक पदमा बसेको मानिसलाई तेजबोध गर्ने निरंकुश शैली रहेछ । बल्ल बुझेँ ।’

पूर्वराष्ट्रपति रामवरण यादवका कानुनी सल्लाहकारसमेत रहिसकेका अधिवक्ता ललितबहादुर बस्नेत आधार र कारणबिना प्रदेश प्रमुखलाई हटाउने अधिकार सरकारलाई संविधानले नदिएको बताउँछन् । ‘सरकारले आफ्नो स्वार्थअनुसार बिनाकारण, बिनाआरोप, बिनास्पस्टीकरण प्रदेश प्रमुखलाई धमाधम हटाइरहेको छ,’ उनी भन्छन्, ‘पद्धतिका हिसाबले यो एकदमै गलत हो ।’

संविधानले प्रदेश प्रमुखलाई नेपाल सरकारको प्रतिनिधिका रुपमा मानेको छ । यस हिसाबले संघ र प्रदेशबीचको सम्बन्ध जोड्ने संवैधानिक दायीत्व भएको पद हो, यो । जसरी केन्द्रमा राष्ट्रपति हुन्छ त्यही भूमिकामा प्रदेशमा प्रदेश प्रमुख रहने संवैधानिक परिकल्पना हो । ‘प्रदेश प्रमुख महत्वपूर्ण संवैधानिक जिम्मेवारी भएको पद हो,’ वरिष्ठ अधिवक्ता त्रिपाठी भन्छन्, ‘त्यहाँ बस्ने केन्द्रीय सरकारको कारिन्दा होइन । जथाभावी हटाउनु भनेको प्रदेश सरकारलाई अस्थिर बनाउनु र स्वतन्त्र ढंगले काम गर्न नदिनु हो ।’

संवैधानिक कानुनका अर्का जानकार अधिवक्ता टीकाराम भट्टराई सिद्धान्ततः प्रदेश प्रमुख संघीय सरकारको प्रतिनिधि भएकोले सरकारले फेरबदल गर्न सक्ने बताउँछन् । तर यसरी बदल्दा  युक्तियुक्त कारण चाहिने उनी सुनाउँछन् । ‘कारण रहस्यमै राखेर हटाउँदा झन् धेरै रहस्य बनेको छ,’ उनी भन्छन्, ‘घरमा काम गर्न राखेको व्यक्तिलाई हटाउँदा त कारण दिनुपर्छ भने संवैधानिक पदमा बसेकालाई हठात् हटाउन पाइन्छ ? संघीय शासनको सुरुआतमै यस्तो देखिनु संघीय प्रणालीको स्वस्थ कार्यान्वयन होइन ।’ 

प्रदेश सरकारका कतिपय अविवेकी निर्णयउपर प्रदेश प्रमुखले ‘चेक एन्ड ब्यालेन्स’को भूमिका समेत खेल्नुपर्छ । मुलुकको सार्वभौमिकतामा असर गर्न थाल्यो भने राष्ट्रपतिले प्रदेश प्रमुखबाट सूचना लिने समन्वय गर्ने दायित्व हुन्छ । ‘त्यसका लागि उसलाई स्वतन्त्र ढंगले काम गर्ने वातावरण हुनुपर्छ,’ अधिवक्ता बस्नेत भन्छन्, ‘आफैँ असुरक्षित महसुस गर्ने प्रदेश प्रमुखले पूर्ण क्षमता र विवेकपूर्ण काम गर्न सक्दैन ।’

नेपालले सिक्नुपर्ने भारतीय न्यायलयको नजिर

प्रदेश प्रमुखको पदलाई अस्थिर बनाउने प्रवृत्ति झाँगिएपछि छिमेकी मुलुक भारतमा केन्द्र सरकार र गभर्नरबीचको सम्बन्धको परीक्षण त्यहाँको सर्वोच्च अदालतले गरेको थियो । सन् २००४ मा भारतको उत्तर प्रदेश, हरियाणा, गुजरात र गोवा राज्यका गभर्नरलाई केन्द्रीय सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा हटाइएको थियो ।

यसविरुद्ध सर्वोच्च अदालता मुद्दा पर्‍यो । वीपी सिंघलविरुद्ध युनियन अफ इन्डिया नामक याे मुद्दामा ६ वर्षपछि त्यहाँको सर्वोच्च अदालतको संवैधानिक इजलासले न्यायिक विवेचना गर्दै सरकारले बद्नयितपूर्ण र विवेकहीन ढंगले गभर्नरलाई हटाउन नपाउने नजिर स्थापित गरिदिएको छ । संविधानको यो प्रावधानको स्वेच्छाचारी प्रयोगले संघीय प्रणाली र संवैधानिक संरचना नै धरापमा पर्ने भनेर लामो व्याख्या गरेको छ ।

राष्ट्रपतिलाई गभर्नर हटाउने अधिकार संविधानले दिए पनि त्यसको प्रयोग स्वेच्छाचारी, मनामौजी र अविवेकी हुन नहुने उक्त फैसलामा उल्लेख छ । ‘गभर्नरलाई न त प्रान्त सरकार वा केन्द्रीय सत्तामा रहेको पार्टीको विचार तथा नीतिसँग बेमेल भएकै आधारमा हटाउन मिल्छ न त राज्य सरकारले उसमाथि विश्वास गुमाएकै आधारमा । केन्द्रमा सरकार फेरिँदा गभर्नर हटाउन मिल्दैन,’ फैसलामा भनिएको छ ।

यसका साथै गभर्नरको पदच्युत गरेको विषय अदालतमा प्रवेश गरेमा त्यहाँ पदमुक्त गर्नुको कारण देखाउनु अनिवार्य हुने फैसलामा छ । निर्णय स्वेच्छाचारी लागेमा अदालतले हस्तक्षेप गर्ने समेत फैसलामा लेखिएको छ । 

भारतीय सर्वाेच्च अदालतबाट स्थापित नजिर फैसला

अधिवक्ता बस्नेतका अनुसार भारतमा गभर्नर र नेपालमा प्रदेश प्रमुख नियुक्ति र पदमुक्तबारे संवैधानिक प्रावधान एउटै छ । त्यसैले भारतीय सर्वोच्च अदालतको त्यो नजिर नेपालमा समेत कामलाग्दो हुने उनको बुझाइ छ । ‘हाम्रो संविधानले राष्ट्रपतिलाई प्रदेशप्रमुख हटाउने अधिकार दिएको मनलाग्दी प्रयोग गर्न होइन,’ उनी भन्छन्, ‘गम्भीर कारणसहितमात्र हटाउन सकिन्छ । आफ्नो अनुकूल भएन भन्दैमा हटाउने होइन । संविधानको परिकल्पना यस्तो हुँदै होइन ।’

सन् १९८३ मा केन्द्र र प्रान्त सरकारको सम्बन्धबारे अध्ययन गर्न गठित एउटा आयोगले समेत भारतको गभर्नर पदको सुरक्षाबारे अध्ययन गरेको थियो, जुन सरकारिया कमिसनको नामले चिनिन्छ । भारतीय सर्वोच्च अदालतमा अवकाशप्राप्त न्यायाधीश रञ्जीतसिंह सरकारियाले नेतृत्व गरेको आयोगले पनि एकदमै बाध्यकारी कारणबाहेक गभर्नरको कार्याकाललाई चलाउन नहुने सुझाव दिएको थियो ।  

पद यताउता पार्ने प्रवृत्तिले गभर्नरको मनमा असुरक्षा महसुस भई कार्यक्षमता क्षय हुने उक्त आयोगको निचोड थियो । कार्यकालअगावै हटाउनु परेमा उसलाई अनौपचारिक रुपमा पदमुक्त गर्नुपर्ने कारणसहित पूर्वजानकारी दिनुपर्ने र गभर्नरले प्रस्टीकरणको मौका पाउनुपर्ने, पदमुक्त गर्नुको परिस्थितिबारे संसदसमक्ष पेश हुनुपर्ने र त्यसको जवाफ प्रदेश प्रमुखले दिनुपर्ने कानुनी प्रावधान राख्न समेत उक्त आयोगले सझाव दिएको थियो ।

संविधानको संरक्षकबाटै अवमूल्यन

अधिवक्ता बस्नेत संविधानले दिएको भूमिकाका आधारमा पनि पदको ग्यारेन्टी हुने बताउँछन् । ‘सबै कुरा संविधानमा लेखिदैन । पद र भूमिकाका आधारमा त्यसको ‘स्पिरिट’ झल्कन्छ,’ उनी भन्छन्, ‘त्यही अनुसार कार्यान्वयन गर्ने हो ।’

जसरी राष्ट्रपतिलाई संविधानको पालक र संरक्षक भनिन्छ त्यसरी नै प्रदेश प्रमुखको समेत स्थानीय स्तरमा त्यही भूमिका हो । तर संवैधानिक अंग मानिने प्रदेश प्रमुखलाई बिनाआधार र कारण हटाउने सरकारको निर्णयलाई राष्ट्रपतिले समेत संरक्षण गर्न सकेको देखिँदैन । ‘सरकारका यस्ता निर्णय रोक्ने काम राष्ट्रपतिले गर्नुपर्ने हो,’ बस्नेत भन्छन्, ‘संवैधानिक अंगमाथि हुने यस्ता गलत संवैधानिक अभ्यासले संघीयताको मर्मलाई अवमूल्यन गरेको छ ।’  

शिलापत्रबाट 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here