खोप लगाउन घरघरमा निमन्त्रणा


February 22, 2024 मा प्रकाशित


१० फाल्गुन २०८०, बिहीबार ०९ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुरा तथा रूबेला खोप लगाउन घरघरमा निमन्त्रणा कार्ड बाँडिने भएको छ । उपमहानगरपालिकास्तरीय खोप समन्वय समितिको आज भएको बैठक तथा अभिमुखीकरणमा पालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले सो जानकारी दिनुभएको हो । उपमहानगरपालिकाको वडावडामा स्वयंसेविकामार्फत निमन्त्रणा कार्ड बाँडेर बालबालिकालाई खोपको पहुँचमा ल्याइने जानकारी दिँदै उहाँले खोप लगाउनका लागि धार्मिक समूह र सीमान्तकृत समुदायसँग अन्तरक्रिया गरिने जानकारी दिनुभयो । नेपालगन्ज सहरका घना बस्ती, सुकुम्बासी बस्ती, उद्योग तथा कारखाना, बालमन्दिर, अनाथ आश्रम, इँटाभट्टा अन्तरदेशीय सीमा, बसपार्कजस्ता ठाउँमा पनि खोपको पहुँच बढाइने उपमहानगरपालिकाले जनाएको छ । महाशाखा प्रमुख चन्दले खोप लगाउन छुट भएका समुदाय, वर्ग र स्थानको पहिचान गरी प्रभावकारी रूपमा खोप अभियान सञ्चालन हुने उल्लेख गर्दै अहिलेसम्म पालिकामा चार प्रतिशतले खोप नलगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले खोप लगाउने तर पछिल्ला खोप निरन्तर नलगाउने समस्या बढ्दै गएको पाइन्छ ।” नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक प्रमुख कमरूद्दिन राईले खोप अभियानलाई प्रभावकारी बनाउन यसका अवरोध हटाउन आवश्यक भएको बताउनुभयो । स्वास्थ्य कार्यालय, बाँकेका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले खोप अभियानलाई विद्यालय केन्द्रित गरिएको जानकारी दिँदै विद्यालयमा पहुँच नभएकालाई उमेर समूहका हिसाबले खोप लगाउने बताउनुभयो । यही फागुन १३ देखि १९ गतेसम्म उपमहानगरमा नौ महिनादेखि १५ वर्षसम्मका ४२ हजार दुई सय ७० बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । सरकारले सन् २०२६ सम्ममा दादुरा रूबेला रोग निवारणको लक्ष्य राखेको छ । खोप अभियान प्रभावकारी नभएका कारण अघिल्लो वर्ष नेपालगन्जमा दादुराको महामारी देखिएको थियो । सो महामारीबाट तीन सय १९ जना सङ्क्रमित भएका थिए भने एकजनाको मृत्यु भएको थियो


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here