झापामा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो


January 19, 2022 मा प्रकाशित


झापा, माघ ५ । तीव्रगतिमा फैलिरहेको कोरोना भाइरसको तेस्रो भेरियन्ट (ओमिक्रोन) बाट संक्रमित हुनेको संख्या झापामा पनि ५ सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार माघ ४ गतेसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ६६ पुगेको हो ।

जिल्लामा एक दिनमा एक सय ५० भन्दा बढी संक्रमित भइरहेका छन् । स्वास्थ्य कार्यालयकाअनुसार मंगलबार मात्र जिल्लामा १ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी भएका जिल्लाहरुलाई रेडजोनमा राखेर कोरोना नियन्त्रणका लागि विशेष योजना अगाडी बढाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमण फैलिरहेपनि भारतबाट नेपाल प्रवेश गर्नेको संख्या दैनिक हजारौं छ । उनीहरुमध्ये काकडभिट्टा नाकाबाट प्रवेश गर्नेलाई मात्र कोरोना प्रोटोकलअनुसार स्वास्थ्य निगरानीमा राखिने गरिएको छ ।

जिल्लामा अन्य खुल्ला नाकाहरुबाट दैनिक ठूलो संख्यामा भारतबाट आउनेहरु प्रवेश गरिरहेका छन् । उनीहरुलाई स्वास्थ्य निकरानी गर्न नसक्दा जिल्लामा कोरोना संक्रमण फैलिने क्रम तीव्र छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here