दमक । पूर्वेली गायक लक्ष्मीप्रसाद खनाल ‘पूर्वेली भाका’ लोक गीत संगीत संरक्षणमा निरन्तर सक्रिय एक श्रष्टा हुन् । कुनै समय निकै मनपराइएको ‘पूर्वेली भाका’ अहिले सुनिन छोडेको छ ।
लोक संगीतमा करिब चार दशक बिताएका गायक खनालले आफ्नै शब्द संकलनमा गीति संग्रह तयार गरेर पूर्वेली लोक भाकाको संरक्षण गर्दै आएका हुन् ।
उनले पछिल्लो समय ६७ वटा रचना राखेर आफ्नो चौथो पूर्वेली लोक भाका बजारमा ल्याएका छन् । ‘मैले करिब ३० बर्षदेखि रचना गर्दै राखेका गीतहरुलाई संग्रहमा समेटेको छु’ खनालले भने,‘मुलुकै एउटा उत्कृष्ट, स्थापित भाका, पूर्वेली भाकाको संरक्षण र जगेर्ना गर्नु हाम्रो कर्तव्य हो । मैले कर्तव्य पालना गरेको मात्र हो ।’

खनालले २०६९, ०७०, ०७२ र ०७६ मा गरी पूर्वेली भाका १, २, ३ र ४ गीति एल्बम समेत सार्वजनिक गरेका थिए । ‘भन्न त संगीतको कुनै जात हुदैन भनिन्छ । तर, हामी पूर्वका मान्छेलाई पूर्वेली भाकाजतिको रसिलो र सन्तुष्टि अन्यत्रका भाकाले दिन सक्दैन’ उनले भने ।
गीति संग्रह विमोचन गर्दै प्रा.डा. भट्टराईले नया“ पुस्ता पूर्वेली भाका संरक्षणमा नलाग्नु दुखद् भएको बताए । ‘नेपाली संगीतमा पूर्वेली भाकाको विशेष स्थान छ । महत्व र लोकप्रियता पनि छुट्टै छ’ उनले भने,‘खनालको गीति संग्रहले पूर्वेली लोक भाकाबारे नया“ पुस्तालाई धेरै ज्ञान दिन्छ ।’
गीति संग्रहमा समावेश गरिएकामध्ये करिब ५० वटा गीत रेकर्ड गरिएका छन् । ५ वटाको मात्र भिडियो बनाएको गायक खनालले बताए । ६० बर्षीय गायक खनालको अचेलको दैनिकी पूर्वेली लोक भाका संरक्षण र प्रवद्र्धनमा बित्ने गरेको छ ।
दमक बहुमुखी क्याम्पसकी प्राध्यापक ब्याञ्जना शर्माले पुस्ता हस्तान्तरण गर्न नसके नेपाली संगीतको एउटा स्थापित भाका लोप हुन धेरै समय नलाग्ने बताइन । ‘अचेल पूर्वेली लोक भाकामा गीत संगीत निर्माण नहुनु दुखद् हो । तर, यसको संरक्षणका लागि पुस्तकहरु लेखिनु खुसीको कुरा हो’ उनले भनिन ।