प्लाष्टिकको झोला विस्थापन गर्न कपडाको झोला बनाउने तालिम


January 27, 2022 मा प्रकाशित


झापा । घरेलु तथा साना उद्योग कार्यालय झापाले प्लाष्टिकको झोलालाई विस्थापन गर्ने उद्देश्यले कपडाको झोला उत्पादनका निम्ति बिहीबारदेखि तालिम सुरु गरेको छ । मेचीनगर नगरपालिका–१२ का २० जना र अर्जुनधारा नगरपालिका–११ का २० गरी ४० युवालाई सो तालिम दिन सुरु गरिएको हो ।

प्रदेश नम्बर १ सरकारको ‘एक जिल्ला एक कार्यक्रम’ अन्तर्गत आएको १० लाखको बजेटमा सो कार्यक्रम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जयनारायण अधिकारीले बताए ।

उनले जिल्लामा प्लाष्टिकका झोलाले वातावरणमा प्रदूषण फैलाउने हुँदा यसको नियन्त्रण पनि हुने र युवालाई उद्यमी बनाउन मद्दतसमेत पुग्ने हुँदा कपडाको झोला उत्पादनका निम्ति तालिमको आयोजना गरिएको बताए ।

एक महिनासम्म सञ्चालन गरिने तालिमका सहभागीलाई चाहिने आवश्यक सामग्रीसमेत कार्यालयले नै उपलब्ध गराउने उनको भनाइ छ । “उहाँहरुलाई तालिम दिएर त्यसै छाड्दैनौँ”, उनले भने, “तालिममा सहभागीको समूह बनाइदिएर स्थानीय सरकारसँग समन्वय गरी रोजगारीलाई दिगो बनाउनसमेत सहयोग गर्छौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here