लघुवित्तहरूको तरल सम्पत्ति ८.९५ प्रतिशतले घट्यो


February 19, 2024 मा प्रकाशित

काठमाडौं । नेपालमा सञ्चालित लघुवित्त वित्तीय संस्थाहरूको तरल सम्पत्ति घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरूको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनमा संस्थाहरूको तरल सम्पत्ति घटेको देखिएको हो ।

आर्थिक वर्ष २०८०८१ को दोस्रो त्रैमासको उक्त प्रतिवेदन हेर्दा २०८० पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको तरल सम्पत्ति २०८० असारको तुलनामा ८.९५ प्रतिशतले घटेर रु. ५ अर्ब ७२ करोड पुगेको छ ।

समीक्षा अवधिमा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरूको तरल सम्पत्तिमा ह्रास आएको छ । सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरू निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्था मात्र रहेका छन् ।

२०८० पुस मसान्तमा तरल सम्पत्ति कुल बचत तथा निक्षेप अनुपात ११.४३ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा यस्तो अनुपात १२.७४ प्रतिशत रहेको थियो । सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरूको २०८० पुस महिनाको वैधानिक तरलता अनुपात र अनिवार्य मौज्दात अनुपात क्रमशः ४.४९ प्रतिशत र ३.५७ प्रतिशत रहेको छ । समग्रमा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरूको अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात तोकिएको न्यूनतम दरभन्दा बढी नै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here