सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने मन्त्रिपरिषदको निर्णय


December 26, 2024 मा प्रकाशित

काठमाडौँ । सरकारले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सहकारी समस्यालाई मध्यनजर गरी तत्काल सम्बोधन गर्नका लागि आवश्यक भएकाले सरकारले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको बताए ।

यस्तै सरकारले सवारी तथा यातायात व्यवस्था दशौं संशोधन नियमावली २०८१ स्वीकृत गर्नुसँगै पर्सा जिल्लाको पोखरिया, जुम्ला जिल्लाको सिंजा, नराकोट र कपिलवस्तु जिल्लाको बोडगाउंमा मालपोत तथा नापी कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने लगायतका निर्णयहरू गरेको सञ्चारमन्त्री गुरुङले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले नेपाल बिमा प्राधिकरणका अध्यक्ष तथा शिक्षक सेवा आयोगको एक जना महिला सहित २ जना सदस्यहरूको नियुक्तिका लागि सिफारिस गर्न छुट्टा छुट्टै सिफारिस समिति गठन गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता मन्त्री गुरुङले बताए ।

यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा झापाकी शान्तिकुमारी चौधरी, सप्तरीका आनन्द कुमार झा, ललितपुरका सुर्वर्ण श्रेष्ठ, सर्लाहीका कमलबहादुर भट्टराई, गुल्मीका हिमालकुमार श्रेष्ठ, सुर्खेतकी नन्दा बस्याल, दार्चुलाका जगतसिंह धामी र कञ्चनपुरका मानबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री गुरुङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here