सामान निर्यातमा विराटनगर भन्सार अगाडि


December 18, 2022 मा प्रकाशित


विराटनगर। नेपालको कुल २६ वटा भन्सार कार्यालयमध्ये सामान निर्यात गर्नेमा विराटनगर भन्सार कार्यालय अगाडि देखिएको छ ।

चालु आर्थिक वर्षको असोज महिनासम्ममा नेपालबाट कुल ४१ अर्ब ८२ करोड रुपैयाँको सामान निर्यात हुदा १२ अर्ब ५७ करोड २९ लाख रूपैयाँको सामान विराटनगर भन्सार कार्यालयबाट निर्यात भएको छ ।

यो कुल निर्यातको करिब ३० प्रतिशत हो । भदौ महिनासम्म विरगञ्ज भन्सार कार्यालय अगाडि रहेकोमा असोजमा भने दोस्रो स्थानमा झरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

गत ३ महिनामा विरगञ्ज भन्सार कार्यालयबाट १० अर्ब ७१ करोडको सामान निर्यात भएको छ । यो कुल निर्यातको करिब २५ प्रतिशत हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट भने ९ अर्ब ७७ करोड मूल्य बराबरको सामान निर्यात भएको छ ।

विभागका अनुसार हालसम्म १५ वटा भन्सार कार्यालयहरूबाट मात्रै निर्यात व्यापार गरिएको छ भने ११ वटा भन्सार कार्यालयहरूबाट निर्यात शून्य रहेको छ ।

चोभार सुख्खा बन्दरगाहा भन्सार कार्यालय र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट भने ३ लाख र ४ लाख रुपैयाँ बराबरको मात्रै सामान निर्यात भएको छ ।

५ वटा भन्सार कार्यालयमार्फत भने करिब १ करोड मूल्य बराबरको मात्रै सामान निर्यात भएको भन्सार विभागका सूचना अधिकारी पुन्यविक्रम खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here