हल्दिबारी १ मा लकडाउन


January 25, 2022 मा प्रकाशित


गोल्धाप । हल्दिबारी गाउँपालिका वडा नं. १ ले शुक्रबारदेखि आफ्नो भूगोलमा लकडाउन गरेको छ ।

हल्दिबारी गाउँपालिका वडा नं. १ अन्तरगत कोरोना रोकथाम नियन्त्रण समितिसहितको सर्वदलीय बैठकले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि लकडाउन घोषणा गरेको हो ।

गोलधाप बजारमा रहेको जनजागृति माध्यमिक विद्यालयका शिक्षकसहित स्थानीय २१ जनालाई कोरोना संक्रमण देखिएपछि हल्दिबारी गाउँपालिका– १ नम्बर वडा कार्यालयले आफ्नो भूगोलमा लकडाउन घोषणा गरेको वडाध्यक्ष त्रिलोचन सापकोटाले बताएका छन्।

बुधबार गोलधाप स्वास्थ्य चौकीमा ६० जनाको स्वाब परीक्षण गर्दा १३ पुरुष र ८ महिला गरी २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमा जनजागृति माविका ६ जना शिक्षक पनि रहेका छन् ।

वडाध्यक्ष त्रिलोचन सापकोटाले जारी गरेको सूचनामा अत्यावश्यक कामबाहेक हिँडडुल गर्न रोक लगाउने, साप्ताहिक हाटबजार पूर्णरुपमा बन्द गर्ने, स्थानीय व्यवसाय तथा वित्तीय कारोबारहरू अनिवार्यरुपमा स्वास्थ्य मापदण्ड अपनाई सेवा प्रदान गर्ने, ओमिक्रोनको लक्षण हुने र सङ्क्रमितहरूको कन्ट्याक्ट ट्रेसिङमा पर्नेहरूले प्रत्येक हप्ताको शुक्रबार गोलधाप स्वास्थ्य चौकीमा गई एन्टीजेन परीक्षण गराउने उल्लेख छ।

अनावश्यक हिंडडुल रोकेर आफ्नो वडाले ओगटेको भूगोललाई मात्र लकडाउन गर्दा पनि संक्रमण फैलनबाट रोक्न सहयोग पुग्ने भएकाले वडा अन्तरगतको कोरोना रोकथाम नियन्त्रण समितिको सिफरिसमा यस्तो निर्णय गर्नुपरेको वडाध्यक्ष सापकोटाले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here