बिर्तामोड । बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर सुरु भएको छ । वडा नम्बर ६ को कार्यालयमा आज स्थानीय अपाङ्गता समन्वय समितिका संयोजकसमेत रहनु भएका नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले शिविर उद्घाटन गर्नु भयो ।
कार्यक्रममा बोल्दै नगर उप प्रमुख संग्रौलाले प्रदेश सरकार र करुणा फाउण्डेसनको सहयोगमा नगरपालिकाले आयोजना गरेको यस शिविरबाट भरपुर लाभलिन सबैलाई आग्रह गर्नु भयो । कम्तिमा ६ देखि ९ महिनासम्ममा अनिबार्य स्वास्थ्य जाँच गर्नु पर्नेमा जोड दिँदै उहाँले ललितपुर रोटरी क्लबको सहयोगमा बिर्तामोडमा ७६ वटा व्हिलचियर वितरण गर्ने जानकारी समेत दिनु भयो । उपप्रमुख संग्रौलाले शिविरमा आउन नसक्नेहरुको लागि घरैमा पुगेर सेवा दिने पनि बताउनु भयो ।
यस्तै वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले यस अघिको समयमा अपाङ्गता परिचयपत्र मात्रै वितरण गरेको भएपनि यो शिविर प्रभावकारी हुनेमा विश्वास व्यक्त गर्नु भयो । आजदेखि सुरु भएको शिविर पुस १४ गतेसम्म सञ्चालन हुने छ ।