
कनकाई, पुस २९ / रोटरी क्लब अफ सुरुङ्गाले कनकाई ७ दुर्गापुरस्थित भृकुटी माविमा अध्ययनरत १ सय ८० विद्यार्थीलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ ।
सामाजिक क्षेत्रमा क्रियाशिल समाजका अगुवा व्यक्तित्वहरुले नेतृत्व गरेको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लवले आफ्नो वार्षिक क्यालेण्डर अनुसार नै शैक्षिक संस्थामा सहयोग गरेको क्लवका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिएका छन् ।
स्थापना वर्षदेखि नै हरेक वर्ष बेग्ला बेग्लै विद्यालयमा सहयोग गर्दै आएको रोटरी क्लवले यस वर्ष कनकाई ७, दुर्गापुरस्थित भृकुटी माविका विद्यार्थीलाई सहयोग गरेको बताइएको छ ।
गरिव, मजदुर तथा सिमान्तकृत समुदायका बालबालिकाहरुको बाहुल्यता रहेको भृकुटी माविमा रोटरी क्लवले गरेको सहयोगबाट शैक्षिक स्तर वृद्धिमा थप टेवा पुग्ने भन्दै विद्यालयका प्रधानाध्यापक चण्डिका प्रसाद उपाध्यायले रोटरीको सहयोगप्रति खुशी व्यक्त गरे ।
क्लवका अध्यक्ष शुसिलकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न न्यानो कपडा (सुइटर) वितरण कार्यक्रममा विद्यालयका शिक्षक कुमार खरेलले स्वागत गरेका थिए ।
क्लवकी सचिव सरला दाहाल पोखरेलले संचालन गरेको औपचारिक कार्यक्रममा उपाध्यक्ष डिल्लीप्रसाद मैनालीले औचित्यमाथि प्रकाश पारेका थिए । क्लवले भर्खरै पनि अर्जुनधारा–१ स्थित शंकराचार्य पीठ साधुटारलाई २५ थान सिरकसहित ३५ हजार बराबरको विविध सामाग्री सहयोग गरेको बताइएको छ ।